‘शङ्खामचुली–दिमालुङ पदमार्ग’ले हतुवागढीमा ल्यायो पर्यटकीय आकर्षण
भोजपुर, ४ साउन – भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माण गरिएको ‘शङ्खामचुली–दिमालुङ पदमार्ग’ पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिकता र सांस्कृतिक विविधता बोकेको यो पदमार्गको निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको छ ।
साढे पाँच किलोमिटर दूरीको पदमार्ग जोर आहाल, शङ्खामचुली र दिमालुङ क्षेत्रलाई समेट्दै निर्माण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार यो पदमार्ग आर्थिक स्रोत वृद्धि र स्थानीय विकासमा टेवा पुर्याउने उद्देश्यसहित निर्माण गरिएको हो ।
“पर्यटनलाई आर्थिक विकाससँग जोड्ने रणनीति अनुरूप पदमार्ग निर्माण गरिएको छ,” उहाँले भन्नुभयो । गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले यसलाई गाउँपालिकाको ‘गौरवको आयोजना’ भन्दै भविष्यमा ऐतिहासिक पदमार्गको रूपमा विस्तार गरिने जानकारी दिनुभयो ।
धरान, इटहरी, विराटनगरलगायत क्षेत्रबाट झण्डै ६५ किमि दूरीमा रहेको घोडेटार बजार क्षेत्रसम्मको पहुँच सुधारिएपछि पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । दूधकोशीमा पक्की पुल निर्माणसँगै सहज आवागमनले पर्यटकको सङ्ख्या वृद्धि गराउने अध्यक्ष राईको विश्वास छ ।
गाउँपालिकाले पदमार्ग आसपासका क्षेत्रमा होमस्टे सञ्चालनको योजना अघि सारेको छ । हरियाली चौर र दृश्यावलोकन स्थलसहितको पदमार्गबाट तराईका फाँट, हिमशृङ्खला र सगरमाथाको झझल्को समेत देख्न सकिने स्थानीयको भनाइ छ ।
शङ्खामचुली डाँडा समुद्री सतहबाट १,८६५ मिटर उचाइमा रहेको छ । किरातकालीन ऐतिहासिक महत्व बोकेको क्षेत्रलाई समेटेर योजनाबद्ध रूपमा पदमार्ग विकास भइरहेको वडा अध्यक्ष कुमार विष्टले जानकारी दिनुभयो । पदमार्गको प्रचारप्रसारलाई समेत सशक्त बनाइँदैछ ।

