म्याग्दी–पर्वत–कास्की जोड्ने धार्मिक, पर्यटकीय स्थल जलजलालाई जोड्ने पदमार्ग
म्याग्दी, ४ साउन – म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल जलजलालाई जोड्ने पदमार्ग निर्माण सम्पन्न भएको छ। जलजला कास्कीको नयाँ पुलबाट सुरु भई पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित पर्यटकीय स्थल घोडेपानीसम्म जोडिने यस पदमार्गलाई गण्डकी प्रदेश सरकारले रु २० लाख बजेटबाट निर्माण गरेको हो। पदमार्ग मोदी–१ माटेबाट शुरु भएर जलजलासम्म ढुङ्गाको सिँढी चिनेर तयार गरिएको छ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतमार्फत सञ्चालित योजनाको उपभोक्ता समितिका सचिव टीका पुनका अनुसार, माटेबाट वाइफाइडाँडा हुँदै जलजलासम्म दुई किलोमिटर पदमार्गमा तीन स्थानमा विश्रामस्थल पनि निर्माण गरिएको छ।उहाँले भन्नुभयो, “परापूर्वकालमा गोठालाहरूले प्रयोग गरेको बाटोलाई पदमार्गमा रूपान्तरण गरिएको हो। लेसपारका २५ मजदुरहरूले चार महिनासम्म निर्माण स्थलमै बस्दै काम गरे।”
तीन हजार तीन सय मिटर उचाइमा रहेको माटेबाट दुलेखानी र वाइफाइडाँडा हुँदै तीन हजार मिटर उचाइमा रहेको जलजलासम्म निर्माण भएको पदमार्गबाट अन्नपूर्ण र धवलागिरि हिमश्रृंखलासहित पर्वत, कास्की, बागलुङ र म्याग्दीका ग्रामीण क्षेत्रहरू समेत अवलोकन गर्न सकिन्छ। साथै यहाँ मृगजस्ता जङ्गली जनावरहरू पनि देखिन्छन्।
जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले भने, “यसअघि व्यवस्थित पदमार्ग नहुँदा पर्यटकलाई बाटो बिराउने र जोखिमपूर्ण मार्ग हिँड्नुपर्ने समस्या थियो। अब पदमार्गले यात्रालाई सहज र सुरक्षित बनाएको छ।” उहाँका अनुसार आगामी आर्थिक वर्षमा प्रदेश सरकारले जलजलाबाट म्याग्दीको मोहरेडाँडातर्फ नयाँ पदमार्ग निर्माणका लागि थप रु २० लाख विनियोजन गरेको छ। यस्तै, गत वर्ष जलजलामा विद्युत् सुविधा पुर्याइएको थियो भने वाइफाइडाँडामा रु १५ लाखको बजेटबाट आश्रयस्थल भवन निर्माण गरिएको छ।
हिन्दू धार्मिक ग्रन्थ रामायणमा जलजलालाई कालञ्जर पर्वतको रूपमा उल्लेख गरिएको छ। जैविक विविधतायुक्त यस क्षेत्रमा विभिन्न जडीबुटी पाइन्छ। धार्मिक पूर्वाधार र प्रवर्द्धनको काम समेत यहाँ सक्रिय छ। साथै जलजलाको पहाडबीच बाँध बनाएर कृत्रिम तलाउ बनाउने योजना पनि अघि बढाइएको छ। हाल म्याग्दीको बेनीबाट पर्वतको मल्लाज र शालिजा हुँदै जलजलासम्म कच्ची सडक पुगेको छ।

