रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन, बर्खामासमेत पर्यटकले ‘गुल्जार’
बागलुङ, ४ साउन – शान्त वातावरण, छिनछिनमा बदलिने मौसम र सयौँ थरी वनफूलले सजिएको ढोरपाटन उपत्यका बर्खायाममा पर्यटकको गन्तव्य बनेको छ। फाँट, पाखा र पहाडहरूमा रङ्गीबिरङ्गी फूलले रङ्गिएको ढोरपाटन अहिले वर्षातको मौसममा झनै रमणीय देखिन्छ।
बर्खायाममा सामान्यतया पर्यटकको चहलपहल कम हुने गरे पनि यो वर्ष ढोरपाटनमा भने पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ। करिब आठ किलोमिटर क्षेत्रफलमा फैलिएको उपत्यका फूलका कारण झनै आकर्षक बनेको छ।
फूल हेर्नै पर्यटकको ओइरो
स्थानीय ढोरपाटन सामुदायिक होमस्टे सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्मका महिनामा अन्यत्र पर्यटक नआए पनि ढोरपाटन भने पर्यटकले भरिएको छ। “सडक असहज भए पनि यहाँको दृश्यले पर्यटकलाई लोभ्याउँछ,” घर्तीले भन्नुभयो, “घरबास भरिएर होटलहरूमा पठाउनु परेको अवस्था छ।”
उहाँका अनुसार अहिले ढोरपाटन पुग्ने अधिकांश पर्यटक फूल र प्रकृतिको दृश्य हेर्न आउने गरेका छन्। पदयात्रा गर्न सक्नेहरू ४,००० मिटरको उचाइमा पर्ने बुकीपाटन पुग्ने गर्छन् भने अन्य पर्यटक ढोरपाटन उपत्यकामा घोडा सफारीमा रमाउने गरेका छन्।
घोडा सफारीदेखि पदयात्रासम्म
पर्यटकका कारण यहाँका होटेल, घरबास र घोडा व्यवसायीहरू उत्साहित छन्। ढोरपाटनको सौन्दर्य र विविधताले विभिन्न सहरबाट पर्यटक तानिएको पाइएको छ। काठमाडौँबाट मोटरसाइकल यात्रामा आएका पर्यटक अनिल राजवंशीका अनुसार, “रातो, सेतो, पहेँलो र गुलाफीजस्ता सयौँ प्रकारका फूलले ढोरपाटन लोभलाग्दो देखिन्छ। सडक कठिन भए पनि दृश्यले सबै थकान बिर्साइदिन्छ।”
राजवंशीले एक दिनको पदयात्रामार्फत बुकीपाटन पुगेको बताउँदै यहाँको दृश्य सामाजिक सञ्जालमार्फत अझ धेरै लोकप्रिय बन्दै गएको बताए। “टिकटकमा हेरेपछि लोभ लागेर श्रीमतीसँगै आएको हुँ,” उहाँले भन्नुभयो। ढोरपाटनबाट बुकी र जलजला क्षेत्र हुँदै हिमाल नजिकको दृश्य अवलोकन गर्न पाइने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको स्थानीयले बताएका छन्।
फूल फुलेका पाटन, चरिरहेका घोडा र भेडा, र पहाडी गोठहरू यस क्षेत्रको विशेषता हुन्। हाल सडक, संचार, र घरबास सुविधा केही सहज बनेपछि बर्खायाममा समेत पर्यटक ढोरपाटन पुग्न थालेका छन्। स्थानीय अनुसार, फुल्ने फूलहरूलाई एकै शब्दमा “बुकी” भनेर चिन्ने गरिन्छ।
स्थानीय तथा पर्यटक दुवैले बुर्तिबाङ–ढोरपाटन सडक खण्ड स्तरीय बनाउन सके यहाँको पर्यटन अझ फस्टाउने विश्वास व्यक्त गरेका छन्। बर्खामासमेत हरियाली र रङ्गीन फूलले ढोरपाटनलाई ‘हिमाली फूलको उपत्यका’ झैँ बनाइरहेको छ।

