समयमै खाद्यान्न ढुवानी नहुँदा कर्णाली प्रदेशको हिमाली जिल्लामा चाडको मुखैमा खाद्यान्न अभाव
सुर्खेत, ८ असोज – नेपालीको प्रमुख चाड दशैं नजिकिँदै छ । चाडपर्वमा मिठो मसिनो खाने परम्परा लामो समयदेखि रहिआएको छ । यस वर्ष समयमै खाद्यान्न ढुवानी नहुँदा कर्णाली प्रदेशको हिमाली जिल्लाका नागरिकले पनि प्रमुख चाडको मुखैमा खाद्यान्न अभाव झेल्नुपर्ने देखिएको छ ।
दशैं आउन लाग्दा कर्णालीका हिमाली जिल्लामा चामलको स्टक सकिन लागेको छ । सुर्खेत गोदामबाट ढुवानी प्रक्रिया पूरा नहुँदा ‘सुर्खेतमा चामलको खातै खात, हिमालका नागरिकलाई पुर्पुरोमा हा’ भनेजस्तो हुन लागेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतको गोदाममा करिब १३ हजार क्वीन्टल चामल मौज्दात छ । तर, हुम्ला, डोल्पा र मुगुका खाद्य डिपोहरुमा पर्याप्त चामल छैन । भएको चामल पनि सदरमुकामका कार्यालयमा छन् । कम्पनीका अनुसार हाल हुम्लामा ३ हजार २ सय क्वीन्टल, मुगुमा ५ सय ५० क्वीन्टल र डोल्पामा ३ सय ६४ क्वीन्टल चामल मौज्दात छ ।
ढुवानीका लागि ठेक्का प्रक्रिया नटुँगिएका कारण यी जिल्लाहरुमा दशैँअघि चाम नपुग्ने निश्चित जस्तै भएको छ । ‘ढुवानीका लागि कम्पनीले ठेक्का प्रक्रिया गरेर लगभग टुंगिएको छ’ खाद्य व्यवस्था तथा व्यपार कम्पनी सुर्खेतका सूचना अधिकारी वासुदेव रिजाल भन्छन्, ‘अहिलेसम्म कुनै पनि कम्पनीसँग सम्झौता नभएकाले दशैँ अघि जिल्लाहरुमा पुर्याउन त लगभग असम्भव छ ।’

