बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग, १४ उद्योग–फर्ममाथि कारबाही
काठमाडौँ, ९ मङ्सिर – पछिल्ला दिनमा बजार अनुगमन, निरीक्षण र कारबाही अभियानलाई तीव्र बनाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ उद्योग तथा फर्ममाथि कारबाही गरेको छ। विभागका अनुसार भक्तपुरको मध्यपुरथिमिमा रहेको हलेसी मार्ट प्रालिलाई रु २ लाख र ओम शिवशक्ति सेरामिक प्रालिलाई रु ५० हजार जरिवाना गरिएको छ।
अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ का दफा १६ र ३८ बमोजिमका कसुर भेटिएपछि ऐनकै दफा ३९(१) अनुसार कारबाही गरिएको विभागले जनाएको छ। काठमाडौँ र भक्तपुरका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक गरिएको अनुगमनमा गुणस्तर, परिमाण, मूल्य, नापतौल र बिक्री प्रक्रियामा अनियमितता फेला परेको थियो।
ऐन अनुसार अनियमितता प्रमाणित भएमा निरीक्षण अधिकृतले अधिकतम रु २ लाखदेखि ३ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। विभागले काठमाडौँ क्षेत्रपाटीको होम मेड स्पाइन्स एण्ड टीसलाई रु २० हजार, गट्ठाघरको जिकेएसएस इन्टरप्राइजेज प्रालिलाई रु १० हजार, क्षेत्रपाटीकै आशिष ट्रेड लिङ्कलाई पनि रु १० हजार जरिवाना गराएको छ।
यसबाहेक, आइके सर्जिकल सप्लायर्स (क्षेत्रपाटी) लाई रु ५५ हजार सहित २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिइएको छ। टोखा–८ मा रहेको सिटी मिनरल वाटर एण्ड बेभरेज प्रालिलाई व्यवसायसम्बन्धी कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ। विभागले अन्य सात उद्योग तथा फर्मलाई सामान्य निर्देशनसहित सचेत गराएको छ।

