कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौँ, ४ साउन – कास्कीको लुम्ले र आसपासका क्षेत्रमा आज बिहानदेखि भारी वर्षा भईरहेको छ। जल तथा मौसम विज्ञान विभागले थप वर्षाको सम्भावना भएकाले स्थानीयहरुलाई सतर्क हुन आग्रह गरेको छ। विभागले जारी गरेको सूचनामा भनिएको छ कि लुम्ले क्षेत्रका स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम बढेको हुनाले विशेष सावधानी अपनाउन आवश्यक रहेको जनाएको छ।
यसअघि विभागले लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा समेत सावधानी अपनाउन सूचना जारी गरेको थियो। त्यस्तै, आज बिहान ५ः३० बजे जारी अर्को सूचनामा इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जानकारी गराइएको छ। विभागले सो क्षेत्रमा वर्षाको मात्रामा वृद्धि भईरहेकोले नदी तटीय क्षेत्र तथा डुबानग्रस्त होचा भूभागमा बस्ने स्थानीयहरुलाई दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

