पाँच संसदीय समितिको बैठक आज बस्दै
काठमाडौँ, ४ साउन – सङ्घीय संसदअन्तर्गत पाँच वटा समितिको बैठक आज बस्दैछ। कार्यसूचीअनुसार कानुन न्याय तथा मानवअधिकार, महिला बालबालिका तथा सामाजिक मामिला, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन, र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकहरू आजको लागि निर्धारण गरिएको छ।
कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गरिने कार्यसूची तय भएको सचिव रामहरि थापाले जानकारी दिनुभयो। महिला तथा सामाजिक मामिला समितिले मधेसी आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने तयारी गरेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने ‘मिडिया काउन्सिल विधेयक’ विषयक सैद्धान्तिक छलफल हुने कार्यतालिका छ। विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ। त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन माथि छलफल गर्नेछ।

