वाग्मती सफाइ महाअभियानको ७०२औँ हप्ताको कार्यक्रम सम्पन्न
काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियानको ७०२औँ हप्ताको कार्यक्रम शनिबार सम्पन्न भएको छ। गुह्येश्वरी मन्दिरअगाडि वाग्मती नदी र किनारमा सरसफाइ गरिएको हो। दसैँका अवसरमा दुर्गा पूजाका लागि बनाइएका मूर्ति नदीमा विसर्जन गर्दा जम्मा भएको फोहर सफा गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिनुभयो।
नवदुर्गाको पूजामा प्रयोग गरिएका मूर्ति नदी किनारमा राखिएको र कुहिने फोहर त्यहीँ गाडिएको उहाँले बताउनुभयो। नकुहिने फोहर भने ट्रकमा राखेर व्यवस्थापन गरिएको छ। सरसफाइ अभियानमा विभिन्न सामाजिक अभियन्ता, कर्मचारी तथा वाग्मती सफाइ अभियानकर्मीको सक्रिय सहभागिता रहेको थियो। आगामी शनिबार पनि गुह्येश्वरी मन्दिरअगाडि नै वाग्मती सफाइ अभियान सञ्चालन गरिने जनाइएको छ।

