ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आज दोस्रो चरणको निर्वाचन
काठमाडौँ । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ। निर्वाचनमा वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता ८० वर्षीय लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर ४५ वर्षीय फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ। लुला चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ। यता, पहिलो चरणको मतदानमा अग्रता हासिल गरेका फ्लाभियोले राष्ट्रपति निर्वाचित हुन दोस्रो चरणमा पनि मतदाताको समर्थन जुटाउनुपर्नेछ।
फ्लाभियो पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा हुनुहुन्छ। सन् २०२२ को निर्वाचनमा पराजित भएपछि सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा जैरलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो। स्वास्थ्य समस्याका कारण उहाँ हाल घरमै नजरबन्दमा रहनुभएको छ। फ्लाभियोले संगठित अपराधविरुद्ध कडा कारबाही गर्ने, कर घटाउने र सरकारी खर्च कटौती गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँका समर्थकहरूले यी योजनाले ब्राजिलमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
निर्वाचन अभियानका क्रममा फ्लाभियोले आफ्ना पिता जैरलाई जेलमुक्त गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ। उहाँका समर्थकहरूले हिंसा, आतङ्कवाद र लागुऔषध तस्करी नियन्त्रण गर्ने तथा ब्याजदर घटाउने योजनालाई मुख्य आकर्षणका रूपमा लिएका छन्। यस निर्वाचनको परिणामले ब्राजिलको आगामी राजनीतिक दिशा, अपराध नियन्त्रण नीति, कर प्रणाली र सरकारी खर्चसम्बन्धी प्राथमिकता निर्धारण गर्ने अपेक्षा गरिएको छ।

