तिहारअघि नै स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य
रसुवा । रसुवाको स्याफ्रुबेँसीमा सवारीसाधन आवतजावत गर्न मिल्ने बेलिब्रिज निर्माण तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा पुल निर्माणलाई गति दिइएको हो। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएपछि उक्त स्थानमा नयाँ बेलिब्रिज निर्माण सुरु गरिएको हो।
पुल जडानका लागि जग निर्माणको काम सुरु भइसकेको र तिहारअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित चौबिसै घण्टा काम भइरहेको जनाइएको छ। यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले शनिबार स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका निर्माण कार्यको स्थलगत अनुगमन गरेको छ।
बाढीका कारण आवतजावतमा समस्या भएको स्याफ्रुबेँसी–बृद्धिम जोड्ने फड्के पुल निर्माणको काम पनि अघि बढाइएको छ। त्यसका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्ठा तथा आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ। बेलिब्रिज र फड्के पुल निर्माण सम्पन्न भएपछि बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

