प्राकृतिक विपत्तिका कारण कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ। देश प्राकृतिक विपत्तिको शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ। भोटेकोशीमा आएको बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै बूढीगण्डकी क्षेत्रमा पनि बाढीले जनधनको क्षति गरेकाले यस्तो निर्णय गरिएको पार्टीले जनाएको हो।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कात्तिक १ गते विज्ञप्ति जारी गर्दै यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने जानकारी दिएका थिए। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा पहिलोपटक चियापान समारोह आयोजना गर्नुभएको थियो।
त्यसयता कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष भने प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै पार्टीले परम्परागत कार्यक्रम नगर्ने निर्णय गरेको हो।

