मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १८ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई नजिक रहेको छ।विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने पहाडी क्षेत्रका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ। विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्ला सूचनाबारे नियमित जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

