ताराखोलाका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स, ६५ जनाले लिए सेवा

बागलुङ । भदौ ८ गते दिउँसोदेखि सुत्केरी व्यथाले च्यापेपछि ताराखोला गाउँपालिका–४ विसौनाकी ३५ वर्षीया देवी घर्तीका परिवारले गाउँपालिकालाई खबर गरे । बाहिर मुसलधारे पानी परिरहेको थियो । गाउँपालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गर्‍यो । देवीले सोही रात गाउँकै हिल स्वास्थ्य चौकीमा तेस्रो सन्तान जन्माइन् । यसअघि सुत्केरी हुँदा स्टेचरमा घर फर्किनुपरेकी उनलाई यसपटक भने गाउँपालिकाको एम्बुलेन्सले स्वास्थ्य चौकीबाटै घर पुर्‍यायो ।

ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती तथा सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ । हालसम्म देवीसहित ६५ जना यस सेवाबाट लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर विकका अनुसार गर्भवती तथा सुत्केरीलाई घरबाट स्वास्थ्य चौकी, स्वास्थ्य चौकीबाट सदरमुकामस्थित धौलागिरि अस्पताल तथा आवश्यक परे पोखराका अस्पतालसम्म लैजाने र उपचारपछि घर फर्काउने व्यवस्था गरिएको छ ।

स्थानीय पोषक सापकोटा र उनका दाजुभाइले २०६७ सालमा गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएका थिए । त्यसपछि २०७७ सालमा गलकोट समाजले अर्को एम्बुलेन्स दिएपछि गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य संस्थासम्म पुग्न थप सहज भएको हो । स्थानीयलाई स्वास्थ्य सेवा सहज बनाउन गाउँपालिकाले तीन वटा स्वास्थ्य इकाइ सञ्चालन गरिरहेको छ । सबै वडामा सुविधासम्पन्न प्रसूति सेवासहितका स्वास्थ्य चौकीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments Box