मुस्ताङको कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमा एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट हुने मालवस्तुको पैठारी कोरलानाकातर्फ बढेको हो । तातोपानी नाका पनि बन्द रहेकाले कोरलानाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार प्रमुख बिदुर चुडालका अनुसार भदौ २२ गतेपछि कोरलानाकाबाट दैनिक औसत करिब ३० करोड रुपैयाँ राजस्व सङ्कलन भइरहेको छ । शुक्रबार मात्रै २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । शुक्रबार ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ । रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाकाबाट आएका ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको प्रमुख चुडालले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका मालवस्तु र विद्युतीय सवारीसाधनको जाँचपासबाट दुई अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ । भदौ ९ गतेसम्म भने १३३ कन्टेनर र १६३ विद्युतीय सवारीसाधन मात्रै नेपाल भित्रिएका थिए ।
यसअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै वर्षभर खुला रहने कोरलानाका तातोपानी र रसुवागढी नाकामा बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ गतेदेखि वैकल्पिक निकासी–पैठारी नाकाका रूपमा खुला गरेको थियो ।
भन्सार प्रमुख चुडालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । सो वर्ष पैठारीतर्फ १४ अर्ब ४१ करोड र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।गत आर्थिक वर्षमा कोरलानाका हुँदै तीन हजार २२३ विद्युतीय सवारीसाधन र एक हजार ८७३ कन्टेनरको भन्सार जाँचपास भएको थियो ।

