निर्वाचन ३२ दिन बाँकीः १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ, १८ माघ  – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा जारी मतपत्र छपाइअन्तर्गत हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ ।

त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेत क्षेत्र नं १ र २, रुकुमपश्चिम, बाजुरा र अछामका क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ तथा सुनसरी क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइ पनि सम्पन्न भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० थान छपाइ भई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ । यस्तै समानुपातिकतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ कार्य पनि सम्पन्न भइसकेको छ ।निर्वाचन आयोगले बाँकी मतपत्र छपाइको काम निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको जनाएको छ ।

Facebook Comments Box