आज दर खाँदै, चारदिने तीज पर्व सुरु हुँदै
काठमाडौँ । हरितालिका (तीज) पर्वका लागि व्रत बस्ने नेपाली महिलाले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै यस वर्षको चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुँदैछ । भाद्र शुक्ल द्वितीयाका दिन दर खाने परम्परा छ । विशेषगरी माइतीले चेलीबेटीलाई बोलाएर दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायतका आडिला खानेकुरा खुवाउने चलन छ । भोलिपल्ट तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वतयारीस्वरूप दर खाने गरिएको धर्मशास्त्रविद्हरू बताउँछन् ।
परम्पराअनुसार तृतीयाको अघिल्लो दिन बेलुकी दर खाइसक्नुपर्ने मान्यता छ । तीजमा महिलाले वर्षभरि भोगेका दुःख, पीडा र पारिवारिक अवस्थालाई गीत तथा भेटघाटका माध्यमबाट व्यक्त गर्ने परम्परा पनि छ । माइती तथा साथीभाइसँग भेटघाट गरी सुखदुःख साट्ने अवसरका रूपमा समेत तीजलाई लिइन्छ ।
पछिल्ला वर्षमा तीजका नाममा महिनौँअघिदेखि दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने र तडकभडक बढाउने प्रवृत्तिप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । शास्त्रीय रूपमा तृतीयाको अघिल्लो दिन व्रतका लागि शक्ति सञ्चय गर्ने उद्देश्यले दर खाने परम्परा रहे पनि पछिल्लो समय यसको समय र स्वरूपमा परिवर्तन आएको उनीहरूको भनाइ छ ।
यस्ता गतिविधिले आर्थिक रूपमा कमजोर वर्गमा नकारात्मक प्रभाव पार्ने भएकाले तीजको मौलिक संस्कृति र परम्परालाई जोगाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । सरकारी तथा सार्वजनिक संस्थाहरूमा समेत लामो समयअघिदेखि तीज कार्यक्रम आयोजना गरी तडकभडक गर्ने प्रवृत्ति बढेको भन्दै संस्कृतिविद्हरूले त्यसलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।
दर खाएपछि सुरु हुने तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रतसँगै अघि बढ्छ । चतुर्थीका दिन गणेशको पूजा गरिन्छ भने पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व सम्पन्न हुन्छ । यस वर्ष भदौ ३० गते गणेश चतुर्थी र त्यसपछि ऋषि पञ्चमी पर्व मनाइने पात्रोमा उल्लेख छ ।
हरितालिका तीजको धार्मिक तथा पौराणिक सम्बन्ध पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको तपस्यासँग जोडिएको छ । पुराणमा उल्लेख भएअनुसार पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गराउन खोजेपछि उनका साथीहरूले उनलाई लुकाएर राखेका थिए ।
त्यसपछि पार्वतीले नीराहार व्रत तथा तपस्या गरी भगवान् शिवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ । पार्वतीलाई साथीहरूले हरण गरी लुकाएको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिन हरितालिका व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।
तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको भीड लाग्ने गर्छ । पछिल्लो समय नेपालबाहिर पनि तीज मनाउने क्रम बढ्दै गएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालको विस्तारसँगै तीजका गीत तथा कार्यक्रम भारतलगायत अन्य स्थानमा समेत लोकप्रिय हुन थालेका छन् ।

