आयुर्वेदिक उपचारतर्फ जनआकर्षण बढ्दो

भोजपुर, ९ पुस – भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ प्राप्त हुने विश्वासका कारण स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् ।

पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्ने नागरिकसमेत पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा उपचारका लागि आउन थालेका छन् । केन्द्रका अनुसार हाल दैनिक रूपमा करिब १०० जनासम्म बिरामीले सेवा लिइरहेका छन् ।

केन्द्रमा पेटसम्बन्धी रोग, अल्सर, नसा च्यापिने समस्या, पायल्स, ढाड दुखाइ, जन्डिस, ग्यास्ट्रिक, दम–खोकी, हाडजोर्नी, महिनावारीसम्बन्धी समस्या तथा पिनासका बिरामीको चाप बढी रहेको कार्यालय प्रमुख नुतन महतोले जानकारी दिनुभयो । विभिन्न आयुर्वेदिक विधिबाट प्रभावकारी सेवा प्रदान गर्न थालिएपछि उपचारप्रति बिरामीको विश्वास बढ्दै गएको उहाँको भनाइ छ ।

बिरामीको सुविधालाई ध्यानमा राख्दै केन्द्रमा केही आधुनिक स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ । रोगको प्रकृतिअनुसार आयुर्वेदिक औषधिसँगै उपकरणको सहायताबाट उपचार पद्धति अपनाइँदै आएको केन्द्रले जनाएको छ ।लामो समयसम्म एलोपेथिक उपचार गर्दा पनि रोग निको नभएका बिरामी आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका छन् ।

स्थानीय केशरबहादुर श्रेष्ठले लामो समयदेखि ढाडको समस्याबाट पीडित भए पनि आयुर्वेदिक उपचारपछि स्वास्थ्यमा सुधार आएको अनुभव सुनाउनुभयो । “ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएको रोग यहाँ उपचार गराएपछि विस्तारै ठीक हुँदै गयो,” उहाँले भन्नुभयो ।

भोजपुर जिल्लामा विसं २०५८ देखि आयुर्वेदिक जडीबुटीबाट मिश्रित औषधि तथा चूर्ण वितरण सुरु गरिएको थियो । हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरसहित टक्सार, दिङ्ला र ओख्रेमा औषधालय शाखा सञ्चालनमा छन् । साथै अरुण गाउँपालिका चम्पे, हतुवागढी गाउँपालिकाको घोडेटार, टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीय नागरिकले सेवा लिइरहेका छन् ।

Facebook Comments Box