निर्वाचन ७१ दिन बाँकीः चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू
काठमाडौँ, ९ पुस – प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र बनाएका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कामलाई एकैसाथ अघि बढाइरहेको छ ।
आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिँदै गर्दा राजनीतिक दलहरूले आवश्यक राजनीतिक छलफल र तयारीलाई तीव्र पारेका हुन् ।
विघटित प्रतिनिधिसभामा रहेका दलसँगै नयाँ दर्ता भएका सबै राजनीतिक दल समानुपातिक सूची तय गर्ने प्रक्रियामा जुटेका छन् । यसैक्रममा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की तथा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्नुभएको थियो । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरेको र निर्वाचन आयोगले प्रक्रियालाई तीव्र पारेकाले चुनावी वातावरण क्रमशः बन्दै गएको देखिन्छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ९३ राजनीतिक दलले समानुपातिकतर्फ सहभागी हुन निवेदन दिएका छन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुने दलका लागि आवश्यक कार्यतालिका तय गरिसकेको छ ।
दलहरूले नयाँ प्रतिशत प्रणालीअनुसार समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समयसीमा तोकिएको छ । आयोगले समानुपातिकतर्फको उम्मेदवार छनोट प्रक्रियामा सहजीकरण गर्न राजनीतिक दलहरूलाई आवश्यक तालिमसमेत प्रदान गरेको छ । यसले जनसङ्ख्याका आधारमा तोकिएको प्रतिशत र बदलिँदो व्यवस्थाअनुसार सूची तयार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कका आधारमा समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिशत निर्धारण गरेको छ । जनगणनाअनुसार समावेशी समूहहरूमा देखिएको जनसङ्ख्याको थपघटलाई ध्यानमा राखी सोहीअनुसारको कानुनी र प्रक्रियागत व्यवस्था गरिएको आयोगले जनाएको छ ।

