कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ५ असार — देशभर हाल सामान्य रूपमा मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाको आजको विज्ञप्तिमा उल्लेख छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने दिउँसो भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ भने देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव पारेको छ। यससँगै भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव नेपालमा देखिएको महाशाखाले जनाएको छ। महाशाखाले बाढी, पहिरो र खोला नजिकका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।