विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन

काठमाडौं, ७ जेठ – देशका आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ । यसअघि सरकारले सबै नियुक्ति खारेज गरेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गत वैशाख २५ गते रिक्त उपकुलपति पदका लागि खुला आवेदन आह्वान गरेको थियो ।

शिक्षा मन्त्रालयका अनुसार सबैभन्दा बढी आवेदन त्रिभुवन विश्वविद्यालय को उपकुलपति पदका लागि परेको छ । उक्त पदका लागि ५० जनाले आवेदन दिएका छन् । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयपोखरा विश्वविद्यालय का लागि समान ३८/३८ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

यस्तै राजर्षि जनक विश्वविद्यालय का लागि २७, मध्यपश्चिम विश्वविद्यालय का लागि २० तथा सुदूरपश्चिम विश्वविद्यालय का लागि १९ जनाको आवेदन दर्ता भएको छ । भरतपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय का लागि १५ तथा लुम्बिनी बौद्ध विश्वविद्यालय को उपकुलपति पदका लागि ११ जनाले आवेदन दिएका छन् ।

बालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत साबिकका उपकुलपति तथा अन्य पदाधिकारीलाई पदमुक्त गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो । मन्त्रालयले उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन शिक्षामन्त्री सस्मित पोखरेल को अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार समितिले अब विज्ञ उपसमिति गठन गरी उम्मेदवारहरूको मूल्याङ्कन गर्नेछ । आवेदन दिएका उम्मेदवारहरूले सम्बन्धित विश्वविद्यालयको सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी पाँच हजार शब्दको रणनीतिक दृष्टिपत्र (भिजन पेपर) र कार्ययोजना (एक्सन प्लान) समेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Facebook Comments Box