कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा
मुस्ताङ, ९ पुस – नेपाल–चीन सीमा नाका कोरला जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त पुलको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।
कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको घमी खोला पुल निर्माणका लागि २०७५ साल पुस १९ गते ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको जिम्मा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभीले रु छ करोड ८० लाख लागतमा लिएको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार सडकको काम सम्पन्न भइसके पनि पुल निर्माण लामो समयसम्म अलपत्र परेको थियो । पुल निर्माण सम्पन्न भएपछि माथिल्लो मुस्ताङमा सवारीसाधन सञ्चालन सहज हुने उहाँको भनाइ छ । सम्झौताअनुसार विसं २०७८ पुस ९ गतेभित्र पुल निर्माण सम्पन्न हुनुपर्ने थियो ।
निर्माण कम्पनीले प्रतिकूल मौसम, हिमपातलगायत कारण देखाउँदै लामो समयसम्म काम अघि नबढाएको थियो । पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनी कार्यस्थलमा नफर्किएपछि आयोजनाले छ महिनाको अल्टिमेटम दिँदै लागतको ०.०५ प्रतिशतका दरले दैनिक हर्जाना लाग्ने व्यवस्था गरेको थियो ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्डमा हालसम्म १४ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । माथिल्लो मुस्ताङको घमी खोला पुल पनि चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

