हेटौँडा कपडा उद्योगमा दुई महिनाभित्र परीक्षण उत्पादन गर्ने सरकारी तयारी
काठमाडौं, ३० असार – लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले हालसम्म भएका काम, प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन पेस गरेको हो।
मन्त्रालयका अनुसार परीक्षण उत्पादनका लागि आवश्यक तयारी सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगका मेसिन मर्मत तथा परीक्षण उत्पादनको तयारी अघि बढाइसकेको छ। प्रतिवेदनअनुसार सरकारले दिएको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यअनुसार उद्योगभित्र आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी तीव्र पारिएको मन्त्रालयले जनाएको छ।
उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई ३३ लाख रुपैयाँ निकासा गरिसकेको छ। उक्त बजेटबाट प्रारम्भिक परीक्षण उत्पादनका लागि आवश्यक काम अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ।
उद्योग सञ्चालनको जिम्मेवारी पाएपछि नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा परिचालन भएको छ। टोलीले सरसफाइको काम सम्पन्न गर्नुका साथै परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरेको र उद्योगमा रहेका पुराना मेसिनको मर्मत कार्य सुरु गरेको जनाएको छ। यस्तै, उद्योगको भवन तथा अन्य भौतिक संरचनाको मर्मतका लागि ५० लाख रुपैयाँको लागत अनुमान तयार गरिएको छ।
सोही आधारमा पूर्वाधार विकास मन्त्रालयले आवश्यक मर्मतको जिम्मेवारी लिएको छ। उद्योगभित्रको विद्युत् प्रणाली मर्मत गर्ने काम भने हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको मन्त्रालयले जनाएको छ। प्रतिवेदनमा प्रारम्भिक चरणमा पुराना मेसिन मर्मत गरी परीक्षण उत्पादन गरिने र त्यसको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना अघि बढाइने उल्लेख गरिएको छ।
प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै कार्यदलका सुझावका आधारमा निर्धारित समयमै परीक्षण उत्पादन सुरु गर्न आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

