दसैँमा जमरा राखे अशुभ हुन्छ भन्ने माझी समुदायको परम्परा

बागलुङ, ९ असोज – देशभर दसैँ सुरु हुनासाथ घरघरमा घटस्थापनादेखि चहलपहल सुरु हुन्छ। तर बागलुङ नगरपालिका–१ रामरेखामा बसोबास गर्ने माझी समुदायका घर भने घटस्थापनाको दिन सुनसान देखिन्छन्। सामान्यतया घटस्थापनामा घर लिपपोत गरेर जमरा राख्ने र विजयादशीका दिन टीकासँगै मान्यजनबाट प्रसादस्वरूप ग्रहण गर्ने प्रचलन छ।

तर यहाँका माझी समुदायले भने जमरा नराखी दसैँ मनाउने परम्परा निरन्तरता दिँदै आएका छन्। उनीहरूका विश्वासअनुसार, घरमा जमरा राख्दा अनिष्ट हुने भएकाले जमराबिना नै दसैँ मनाउने चलन पुस्तौंदेखि कायम छ। स्थानीय देउकुमारी माझीका अनुसार, करिब डेढ सय वर्षअघि जमरा राख्दा घरकी कन्याको मृत्यु भएको घटना स्मरण गर्दै पुर्खाहरूले जमरा राख्न छोडेका थिए।

त्यसयता जमरा राखे अनिष्ट हुन्छ भन्ने धारणा गहिरिँदै गएको छ। अहिले पनि घरमा जमरा नराखी नजिकको मन्दिरबाट जमरा ल्याएर मात्र दसैँ मनाउने परम्परा चलनमा छ। “जमरा राख्दा लगातार छोरीचेलीको मृत्यु हुने भएकाले पुर्खाले यो चलन रोक्नुभएको थियो। त्यसपछि जमरा नराख्ने सहमति हाम्रो समुदायमै कायम भयो,” स्थानीय कृष्ण माझीले बताए।

खनियाबास र मालढुङ्गामा बसोबास गर्ने करिब २० माझी परिवार अहिले पनि यही परम्परा पालना गर्छन्। उनीहरू पुर्खादेखि नै कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा खियाउने र बालुवा निकालेर जीविकोपार्जन गर्दै आएका भए पनि पछिल्लो पुस्ता भने क्रमशः अन्य पेसातर्फ आकर्षित हुँदै गएको छ।

Facebook Comments Box