‘जेनजी’ आन्दोलनकै बीच दुर्लभ कछुवा चोरी
झापा, ९ असोज – अर्जुनधारा नगरपालिका–९ मा रहेको कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवाहरू चोरी भएको छ। सुखानी सहिद स्मृति प्रतिष्ठान परिसरभित्र सञ्चालनमा रहेको सो केन्द्रमा हालसम्म दश प्रजातिका झण्डै ६० वटा कछुवा संरक्षणमा राखिएका थिए।
गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा केन्द्रमा रहेका चारवटा कछुवा हराएको पाइएको हो। प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीका अनुसार आन्दोलनकारीहरूले मुख्य कार्यालय, पर्यटकीय पूर्वाधार, डुङ्गा, फाउन्टेन पार्कको प्यानल बोर्ड, प्रहरी चौकी, सहिद प्रतिमा र क्यान्टिनलगायत संरचनामा क्षति पु¥याएका थिए। सो घटनाबाट करिब ७० लाख रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको उनले बताए।
“केन्द्रका कछुवाहरूको नियमित गणना हुने गर्छ,” सुवेदीले भने, “गणना गर्दा चारवटा चोरी भएको पुष्टि भयो।” स्थानीय पर्यटकीय आकर्षणका रूपमा विकास हुँदै आएको यो केन्द्रमा नौका विहार, सहिद प्रतिमाको अवलोकन, झोलुङ्गे पुल र फाउन्टेन पार्क हेर्न आउने पर्यटकहरूको बाक्लो भीड हुने गरेको थियो।
बर्सेनि करिब दुई लाख पर्यटक आउने अनुमान गरिन्छ। तर आन्दोलनपछि प्रवेश बन्द हुँदा प्रतिष्ठान हाताबाहिरका ५० भन्दा बढी पसल तथा रेस्टुरेन्ट हाल सुनसान भएका छन्। क्षतिग्रस्त संरचनाको भग्नावशेष पन्छाएर केन्द्रलाई असोज ११ गतेदेखि पुनः पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको व्यवस्थापक सुवेदीले जानकारी दिए।
सन् २०१२ मा उभयचर विज्ञ डा. केआर खम्बुको पहलमा स्थापना गरिएको यस संरक्षण केन्द्रमा विश्वविद्यालयका जीव विज्ञानका विद्यार्थी अनुसन्धानका लागि आउने गरेका छन्। स्थानीय ग्रामीण र सिमसार क्षेत्रबाट उद्धार गरिएका कछुवाहरूलाई संरक्षण र प्रजननका लागि यहाँ ल्याइने परम्परा रहँदै आएको छ।

