नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको निधन
काठमाडौँ, २६ पुसः नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ । केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै निवासमा उपचाररत ८४ वर्षीय दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा वीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मनुभएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकका सम्पादक रहनुभएको थियो । उहाँले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।
पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहनुभएका दाहालको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

