टर्कीको बालिकेसिरमा ६.१ म्याग्निच्युडको भूकम्प, एकको मृत्यु, २९ जना घाइते
कठमाडौं, २६ साउन
टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ गएको ६.१ म्याग्निच्युडको भूकम्पमा एकजना ८१ वर्षीया महिलाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। महिलालाई भग्नावशेषबाट निकालिएको केही समयमै ज्यान गएको बीबीसीले जनाएको छ।
सरकारी तथ्यांक अनुसार, भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् भने २९ जना घाइते भएका छन्। विपद् व्यवस्थापन कार्यालयका अनुसार भूकम्प स्थानीय समयअनुसार साँझ ७:५३ बजे गएको थियो र यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस गरिएको थियो। परकम्पका धक्का पनि दर्जनौँ पटक झल्झली हल्लिएका थिए।
राष्ट्रपति रेचेप तैयप एर्दोआनले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले उद्धार र पुनर्स्थापना कार्यमा तीव्रता दिने बताए। गृहमन्त्री अली येरलिकायाले खोज तथा उद्धार कार्य सकिएको र ठूलो क्षति नभएको जानकारी दिएका छन्। तर, सिन्डिर्गीका तस्वीरमा ठूला भवनहरू पूर्ण रूपमा ध्वस्त र फलामका बीमसहित भग्नावशेष देखिएको छ।
टर्की तीन ठूला टेक्टोनिक प्लेटहरूको संगमस्थलमा पर्दा यहाँ बारम्बार भूकम्प हुने गर्दछ। सन् २०२३ को फेब्रुअरीमा आएको शक्तिशाली ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी क्षेत्र ध्वस्त बनाएको थियो जसमा ५० हजारभन्दा बढीको मृत्यु भएको थियो। छिमेकी सिरियामा पनि ५ हजार भन्दा बढीको ज्यान गएको थियो। दुई वर्ष बितिसक्दा पनि विस्थापितहरूको संख्या लाखौं छ।

