विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान
कञ्चनपुर, ९ असोज – प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्। पुष्पाका अनुसार, विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले आमा–छोरी अमेरिका गएका हुन्।
“यसअघि इजरायल गएका थियौँ, यसपटक अमेरिकामा अन्तरराष्ट्रिय मञ्चमार्फत दाइको रिहाइका लागि आवाज उठाउनेछौँ,” उनले भनिन्। उनले अन्य देशका नागरिकलाई पनि विपिनको मुद्दामा सहानुभूति जनाउन आग्रह गरिन्। यसअघि पनि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेर पहल गरेको थियो। यो पटक भने संयुक्त राष्ट्रसङ्घसम्म विषय पु¥याउने उद्देश्यले अमेरिका जान सहयोग गरिएको बताइएको छ।
गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिनसहित ४८ जना बन्धकको तस्बिर ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो। विपिनको परिवारले उक्त तस्बिर इजरायलमाथि दबाब बढाउन सार्वजनिक गरिएको हुनसक्ने आशंका व्यक्त गरेको छ।
“सरकारले कतारलगायतका देशसँग अझ सक्रिय पहल गरेको भए रिहाइ सम्भव हुन्थ्यो कि भन्ने लाग्छ,” विपिनका पिता महानन्द जोशीले भने, “अब पनि सरकारबाट थप पहल हुने अपेक्षा गरेका छौँ।” सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहितका नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए। सो आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

