मुक्तिनाथबाट फर्किने क्रममा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
मुस्ताङ, २३ वैशाख – मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किने क्रममा एक नेपाली तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–९ भगवानपुरका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनी बाट फर्किने क्रममा अचानक श्वासप्रश्वासमा समस्या भएको थियो।
उपचारका लागि जोमसोम स्थित प्रदेश अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले मंगलबार दिउँसो मृत घोषित गरेका थिए। प्रहरीका अनुसार मृतकसँग रहेका परिवारका अन्य सदस्यहरू भने सकुशल रहेका छन्। उच्च हिमाली क्षेत्रको प्रतिकूल हावापानीका कारण मुस्ताङमा ज्येष्ठ नागरिक, दीर्घरोगी तथा सिजनल रोगबाट प्रभावित व्यक्तिमा लेक लाग्ने समस्या देखिने गरेको छ।
चालु वैशाख महिनामै एक भारतीय नागरिकसहित तीन जनाको लेक लागेर मृत्यु भइसकेको प्रहरीले जनाएको छ। विशेषगरी मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्रीहरूमा यस्तो समस्या बढी देखिने गरेको छ। लेक लागेपछि टाउको दुख्ने, थकान र रिङ्गटा लाग्ने जस्ता प्रारम्भिक लक्षण देखिन्छन्। अवस्था गम्भीर बन्दै जाँदा श्वास फेर्न गाह्रो हुने, हिँड्न नसक्ने, वाकवाकी लाग्ने तथा पखाला लाग्ने जस्ता समस्या देखिन सक्छ।
चिकित्सकका अनुसार यस्ता लक्षण देखिएमा तत्काल उच्च स्थानमा जान रोक्ने, आराम गर्ने, प्रशस्त झोलिलो पदार्थ सेवन गर्ने तथा आवश्यक परेमा तल्लो क्षेत्रमा झरेर स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ। समयमै सावधानी अपनाएमा लेक लाग्ने समस्या निको हुने भए पनि बेवास्ता गर्दा मस्तिष्क वा फोक्सो सुन्निने जस्ता जटिल अवस्था उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ।

