नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी

काठमाडौं, २५ भदौ – नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ। देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गर्दै तत्काल लागू हुने गरी कर्फ्यू लागू गरिएको सेनाले जनाएको छ।

सेनाले जारी गरेको विज्ञप्ति अनुसार आज साँझ ५ बजेसम्म कर्फ्यू जारी रहनेछ भने त्यसपछि पनि निरन्तरता दिँदै भोलि बिहान ६ बजेसम्म कर्फ्यू लागू रहनेछ।

सेनाले आन्दोलनको नाममा विभिन्न अराजक समूह र व्यक्तिहरूले व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंस्रक आक्रमण र बलात्कार प्रयासजस्ता गतिविधि गरिरहेको उल्लेख गर्दै यस्ता अपराधजन्य गतिविधि रोक्न कडा कदम चालिएको स्पष्ट पारेको छ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारीसाधनहरू—जस्तै एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका गाडी—मात्र सञ्चालनमा रहनेछन्। आवश्यक परे नजिकैका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले सर्वसाधारणलाई आग्रह गरेको छ।

त्यस्तै, अफवाहमा नलागी आधिकारिक सूचनामात्र विश्वास गर्न, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न, साथै अपराधजन्य गतिविधि नियन्त्रणमा सेनासँग सहकार्य गर्न सेनाले सम्पूर्ण अवकाशप्राप्त सैनिक, राष्ट्रसेवक, सञ्चारकर्मी तथा नागरिकलाई अपील गरेको छ।

Facebook Comments Box