निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौँ, २१ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्न निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच समझदारी भएको छ । निर्वाचन आयोग र टिकटकका प्रतिनिधिबीच आज समझदारीपत्र आदानप्रदान गरिएको हो ।

समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका क्रममा प्रविधिका माध्यमबाट हुनसक्ने दुरुपयोग रोक्न आयोग योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुभयो । निर्वाचनको पक्षमा सिर्जित वातावरण धमिलिन नदिन टिकटकसँग गरिएको यो सम्झौता ऐतिहासिक भएको उहाँको भनाइ थियो ।

टिकटकसँगको सहकार्यबाट निर्वाचन आचारसंहिता उल्लङ्घन तथा मिथ्या सूचना रोक्न सहयोग पुग्ने विश्वास गरिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले उल्लेख गर्नुभयो । निर्वाचनमा हुने दुरुपयोग नियन्त्रणका लागि टिकटकले निःशुल्क रूपमा सहयोग गर्न लागेकोप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

समझदारीअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता कायम गर्न टिकटकले सहयोग गर्नेछ । निर्वाचनमा स्वच्छता प्रवर्द्धन, आयोगको क्षमता अभिवृद्धि तथा निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सूचना सर्वसाधारणसम्म पु¥याउन साझेदारी प्रभावकारी हुने विश्वास आयोगले गरेको छ ।

यस समझदारीले निर्वाचनलाई प्रभावित पार्नसक्ने भ्रामक सूचना र हानिकारक सामग्री नियन्त्रणका लागि आयोगबाट भइरहेका प्रयासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box