विपद्मा बेपत्ता २ हजार २९४ नेपाली र १७१ विदेशीको विवरण सार्वजनिक, दाबी गर्न सात दिनको समय

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्मा परी बेपत्ता भएका २ हजार २९४ नेपाली र १७१ विदेशी नागरिकको विवरण सार्वजनिक गरेको छ। विवरणमा कुनै त्रुटि भए सच्याउन तथा बेपत्ता व्यक्ति फेला परेको भए जानकारी गराउन प्राधिकरणले सात दिनको समय दिएको छ।

गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ अनुसार शनिबार सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। प्राधिकरणका अनुसार ३२ जिल्लाबाट प्राप्त विवरणमा सबैभन्दा बढी रसुवाका १ हजार ५३८ र सिन्धुपाल्चोकका २१९ जना बेपत्ता छन्। यस्तै, जुम्लाका ६३, कैलाली र सर्लाहीका ५१–५१, बर्दियाका ४४, दाङका ३८ तथा रामेछाप र सिन्धुलीका ३७–३७ जना सूचीकृत छन्।

त्यस्तै, नेपालस्थित सातवटा विदेशी नियोग तथा दूतावासबाट प्राप्त विवरणअनुसार १७१ जना विदेशी नागरिक बेपत्ता छन्। जसमा मलेसिया र युक्रेनका ५४–५४, अस्ट्रेलियाका ३३, रुसका ११, दक्षिण कोरियाका नौ, जर्मनीका आठ र इटालीका दुई जना रहेका छन्। प्राधिकरणले सार्वजनिक विवरणमा नाम समावेश भएका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा परिवारलाई सात दिनभित्र स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्राधिकरणमा दाबी पेस गर्न आग्रह गरेको छ।

विवरणमा त्रुटि भए प्राधिकरणको इमेल वा ९८५१३२०२६९ र ९८४९२८१०९७ नम्बरमा सम्पर्क गर्न सकिनेछ। विदेशी नागरिकको विवरण सच्याउन भने परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

Facebook Comments Box