बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइकाले दुई अर्ब ६० करोडको काम थाल्यो
काठमाडौँ । बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणले तीव्रता पाएको छ। सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले दुई अर्ब ६० करोड रुपैयाँको लागतमा पुनर्निर्माण सुरु गरेको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार राजमार्गका अन्य तीन खण्डमा पनि पुनर्निर्माण भइरहेको छ। पिप्लेदेखि भकुण्डेबेँशीसम्मको सडकखण्डमा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ।
कार्यालयका अनुसार क्षतिग्रस्त सडकलाई डेडिकेटेड दुई लेनमा पुनर्निर्माण गरिँदैछ। आगामी वर्षायामअघि नै निर्माणाधीन तीन खण्डमा एक तह कालोपत्रे गर्ने तयारी छ। २०७१ साल असोजमा रोशी खोलामा आएको बाढीका कारण काभ्रेपलाञ्चोकको दाप्चाखोला पुलदेखि सिन्धुलीको नेपालथोकसम्म करिब २९ किलोमिटर सडक क्षतिग्रस्त भएको थियो।
हाल पुनर्निर्माण गरिएका सडकबाटै सवारीसाधन सञ्चालन भइरहेका छन्। केही साँघुरा तथा जोखिमयुक्त स्थानमा डाइभर्सन बनाएर दुईतर्फी आवागमनको व्यवस्था मिलाइएको सडक कार्यालयले जनाएको छ। चौकीडाँडा र पिन्थली क्षेत्रमा सडक मर्मत भइरहेको छ। वर्षाका कारण पहिरो वा लेदो आएर सडक अवरुद्ध भए तत्काल खुलाउन आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ। बीपी राजमार्ग नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गका रूपमा रहेको छ।

