आज काग तिहार, यमराजका दूतका रूपमा कागको पूजा गरिँदै
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। यमपञ्चकको पहिलो दिन आज आइतबार काग तिहार मनाइँदैछ। सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रीय मान्यताअनुसार आज काग तिहार मनाउन लागिएको हो। यस दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा सम्मानपूर्वक पूजा गरी मिठा खानेकुरा खुवाउने परम्परा छ।
वैदिक सनातन हिन्दु धर्मअनुसार कागलाई यमराजको दूत मानिन्छ। कागले पृथ्वीमा भएका जीवित प्राणीको जन्म र मृत्युको विवरण यमराजसमक्ष पुर्याउने धार्मिक विश्वास छ। त्यसैले कागलाई दहीभात तथा अन्य खानेकुरा दिएर पूजा गर्ने चलन रहेको छ। नेपाली समाजमा काग कराउनुलाई शुभ–अशुभ सन्देश वा पाहुना आउने संकेतका रूपमा लिने परम्परा पनि छ। कागलाई खानेकुरा दिएर यमदण्डबाट हुने संकटबाट रक्षा गर्न प्रार्थना गरिन्छ।
कागको पूजा गर्नु धार्मिक आस्थासँगै प्रकृति र जीवजन्तुप्रतिको सम्मान तथा सहअस्तित्वको प्रतीकसमेत मानिन्छ। तिहार पाँच दिनसम्म मनाइन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक कार्तिक शुक्ल द्वितीयासम्म चल्ने धार्मिक परम्परा छ। यस अवधिमा काग, कुकुर, गाई, गोरु र भाइटीकाका साथै बलि राजाको पनि पूजा गर्ने चलन छ।
धार्मिक मान्यताअनुसार भगवान् विष्णुले राजा बलिको दानशीलताबाट प्रसन्न भई वर्षमा पाँच दिन पृथ्वीमा शासन गर्ने अधिकार दिएको विश्वास गरिन्छ। त्यसैले यमपञ्चकका अवसरमा बलि राजाको पूजा गर्ने परम्परासमेत रहेको छ। आज काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा रहेको कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना गरिँदैछ।

