मधेशमा जसपा नेपाल, एमाले र नेकपा मिलेर नयाँ सरकार बनाउने सहमति
जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ। तीन दलबीच नयाँ सरकार गठन गर्ने सहमति जुटेको एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिनुभएको छ। उहाँका अनुसार सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने अन्तिम निर्णय हुन बाँकी छ।
शीर्ष तहमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलपछि नयाँ समीकरणको सहमति जुटेको हो। नयाँ सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बलियो रहेको नेताहरूले बताएका छन्। जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ।
यसअघि असोज ३० गते एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो। मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने आफ्नो सरकार जोगाउने प्रयास गर्दै आउनुभएको छ। एमाले पुनः कांग्रेस नेतृत्वकै सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको थियो। तर एमाले अध्यक्ष ओलीले सरकारमा फर्किन अस्वीकार गरेपछि नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेको हो।

