चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
चितवन – चितवनमा प्रतिबन्धित माउर माछापालन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन दिएको छ। भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा तीनवटा मत्स्य फार्ममा प्रतिबन्धित माउर माछापालन भइरहेको पाइएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा केही पोखरीमा माछाको आहारका रूपमा सडेगलेका मासु तथा दुर्गन्धित अण्डासमेत प्रयोग गर्ने गरेको भेटिएको प्रशासनले जनाएको छ। प्रशासनले फार्म सञ्चालकलाई प्रतिबन्धित माछा तत्काल नष्ट गर्न, फोहोर पदार्थलाई आहारका रूपमा प्रयोग नगर्न तथा पोखरी र आसपासको क्षेत्र सफा राख्न निर्देशन दिएको छ।
यसअघि गत भदौमै प्रतिबन्धित माछापालन नगर्न सचेत गराइए पनि त्यसको पालना नभएपछि माछा नष्ट गर्न निर्देशन दिनुपरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभएको छ। उहाँले प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण गरेको पाइएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ। पशु सेवा कार्यालयका अनुसार माउर माछा प्राकृतिक जलाशयमा पुगेमा स्थानीय जातका माछा तथा अन्य जलचर प्राणीको अस्तित्वमा असर पर्न सक्छ।
यसले प्राकृतिक जलस्रोतको जैविक विविधतामा समेत नकारात्मक प्रभाव पार्ने जोखिम रहेको छ। प्रशासनले जिल्लाका सबै माछा व्यवसायीलाई प्रतिबन्धित माउर माछापालन तथा बिक्रीवितरण नगर्न र उपभोक्तालाई पनि त्यस्ता माछा खरिद नगर्न आग्रह गरेको छ। चितवनमा हाल करिब एक हजार हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको छ। माडी नगरपालिका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा जोनका रूपमा समेत रहेको छ।

