बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

हेटौँडा, ८ भदौ – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मत लिन लाग्नुभएको हो । त्यसका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बैठकमा अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री थापाको आफ्नै दल नेकपा एमालेले पनि प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

तर, सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र भने विवाद देखिएको छ । राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आफ्ना प्रदेशसभा सदस्यलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ । यद्यपि, सरकारमा सहभागी खानेपानी मन्त्री राजु विष्टले तामाङलाई सरकार गठन हुनुअघि नै सचेतक पदबाट हटाइएको दाबी गर्नुभएको छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले तामाङलाई यसअघि नै सचेतकबाट हटाएको बताइएको छ । नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा थापा भदौ ४ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्तिमा राप्रपाले पार्टी केन्द्रको निर्णयविपरीत समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापामाथि पार्टीले कारबाहीसमेत गरिसकेको छ ।

सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई पनि पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ । बागमती प्रदेशसभामा राप्रपाका १२ सदस्य रहेकाले उनीहरूको उपस्थिति र मतदानले मुख्यमन्त्री थापाले विश्वासको मत पाउने वा नपाउने विषयमा विशेष चासो देखिएको छ ।

Facebook Comments Box