स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसीलाई काठमाडौं ल्याइँदै
काठमाडौं । स्वास्थ्य अवस्था जटिल बनेपछि प्राध्यापक डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। डा. केसीलाई लिन काठमाडौंस्थित हेलिकप्टर सोमबार इलामका लागि उडिसकेको छ। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याउने तयारी भइरहेको इलाम अस्पतालका चिकित्सक डा. महेश आचार्यले जानकारी दिनुभएको छ।
टाइप टु मधुमेहका बिरामी रहेका डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको चिकित्सकले बताएका छन्। स्वास्थ्य अवस्था क्रमशः बिग्रिँदै गएपछि थप विशेषज्ञ उपचार आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ। विभिन्न माग राख्दै डा. केसीले गत बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गर्नुभएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो।

