एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग पराजय बेहोरे पनि दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराएको थियो । यता पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
हालसम्मको अंकतालिकामा जनकपुर पाँचौँ र पोखरा अन्तिम स्थानमा रहेका छन् । हरमित सिंहको कप्तानीमा रहेको जनकपुरको टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली र अनिलकुमार साहलगायत खेलाडी छन् । यस्तै, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा शाकिब अल हसन, महेदी हसन, चमिका करुणारत्ने र धनञ्जय लक्षानलगायत खेलाडी छन् ।
यसैबीच, शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको थियो । वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले तीन विकेट गुमाएर ७० रन मात्र बनाउन सकेको थियो । लगातारको वर्षाका कारण मैदान जलमग्न भएपछि शनिबार हुने भनिएको चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेल भने रद्द भएको थियो । खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।

