संरचना निर्माण भएको वर्षौँ बित्दा पनि महाकाली सिँचाइको नहरमा पानी आएन
कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत नहर निर्माण सम्पन्न भएको वर्षौँ बितिसक्दा पनि किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन् । कञ्चनपुरको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भइसकेको छ । पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १४ वटा शाखा नहर निर्माण सम्पन्न भएका छन् भने आठ वटा शाखा नहर निर्माणको अन्तिम चरणमा छन् ।
तर, भारतीय पक्षले टनकपुरबाट नहरमा पानी नछाड्दा निर्माण सम्पन्न भएका संरचना प्रयोगविहीन बनेका छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक गणेश मरासिनीका अनुसार चार वर्षअघि नै नहरको परीक्षणसमेत गरिएको थियो । त्यसबेला टनकपुरबाट पानी ल्याएर धान दिवससमेत मनाइएको थियो । तर त्यसयता नहरमा पानी सञ्चालन हुन सकेको छैन ।
टनकपुरस्थित नेसनल हाइड्रोपावर कर्पोरेसनले दिल्लीबाट आदेश आएपछि मात्रै पानी छाड्ने जवाफ दिँदै आएको आयोजना कार्यालयले जनाएको छ । नहरमा पानी सञ्चालनका लागि कूटनीतिक तहबाट पहल आवश्यक रहेको निर्देशक मरासिनीको भनाइ छ । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले हिउँदमा तीन सय क्युसेक र वर्षायाममा एक हजार क्युसेक पानी पाउनुपर्ने व्यवस्था छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माण सम्पन्न भएपछि कैलाली र कञ्चनपुरका ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको आयोजना पर्याप्त बजेट अभावका कारण सुस्त बनेको थियो । सरकारले आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माणले गति लिएको हो ।
आयोजनामा हालसम्म १० अर्ब ७४ करोड रुपैयाँ खर्च भइसकेको छ भने चालु आर्थिक वर्षका लागि करिब दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । नहरमा पानी सञ्चालनका लागि नेपाल र भारतका अधिकारीबीच हालै काठमाडौंमा छलफलसमेत भएको आयोजना कार्यालयले जनाएको छ ।

