चितवनमा ६ लाखभन्दा बढीको पटाकासहित दुई भारतीय नागरिक पक्राउ

चितवन । प्रहरीले चितवनबाट ६ लाख २३ हजार रुपैयाँभन्दा बढी मूल्यका पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय कन्हैया कुमार रहेका छन्। उनीहरूको साथबाट ८० हजार ३७२ वटा विभिन्न प्रकारका पटाका र एक लाख ७२ हजार ३०० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पक्राउ परेकामाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

यसैबीच, चितवनको राप्ती नगरपालिका–१ स्थित दमस्थानी मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडाको अस्थिपञ्जर फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार करिब छ महिनाअघि मरेको गैँडाको खाग र खुरसहित अस्थिपञ्जर भेटिएको हो। गैँडा प्राकृतिक कारणले मरेको अनुमान गरिएको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ६ सय ९४ वयस्क गैँडा रहेका छन् भने देशभर गैँडाको सङ्ख्या ७ सय ५२ पुगेको छ।

Facebook Comments Box