मेची भन्सार : आयात र निर्यात दुवै घटे, राजस्व भने बढ्यो
झापा, ९ भदौ
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा मेची भन्सार कार्यालयअन्तर्गत पूर्वी नाका काँकरभिट्टाबाट हुने आयात र निर्यात दुवै घटेका छन्। भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार यस साउनमा रु. ३ अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालसामान आयात भए।
यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा रु. १९ करोड २ लाख कम हो। गत आव २०८१/८२ को साउनमा रु. ३ अर्ब ८८ करोड ४३ लाख बराबरका वस्तु आयात भएका थिए। यस्तै, निर्यात पनि घटेको छ। चालु आवको साउनमा रु. १ अर्ब ५४ करोड २८ लाख बराबरका वस्तु निर्यात भए, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. १ अर्ब ८० करोड ८२ लाख थियो।
तर, आयात–निर्यात दुवै घटेपनि राजस्व भने बढेको छ। यस वर्ष साउनमा रु. १ अर्ब २६ करोड ५० लाख राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु. १५ करोड १८ लाख बढी हो।

