भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो। भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस भ्रमणले दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास मन्त्रालयले लिएको छ। नेपाल बसाइका क्रममा विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नुहुनेछ। दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी उहाँ कात्तिक १९ गते काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Facebook Comments Box