घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक तौलको ग्यास सिलिन्डर अध्ययन हुँदै
काठमाडौँ । सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक तौलका खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा ल्याउने तयारीस्वरूप अध्ययन थालेको छ । हाल दुवै प्रयोजनका लागि १४ दशमलव २ किलोको सिलिन्डर प्रयोग हुँदै आएकाले व्यावसायिक प्रयोजनका लागि फरक तौलको सिलिन्डर कायम गर्ने विषयमा अध्ययन भइरहेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको छ ।
समितिमा नेपाल गुणस्तर तथा नापतौल विभाग, भन्सार विभाग, नेपाल आयल निगम तथा ग्यास उद्योगीका प्रतिनिधि सहभागी छन् । प्रवक्ता बस्नेतका अनुसार व्यावसायिक प्रयोजनका लागि फरक तौलको सिलिन्डर प्रयोग गर्ने विषयमा अध्ययन भइरहेको छ । गुणस्तर तथा नापतौल विभागले यसअघि नै व्यावसायिक प्रयोजनका लागि ४५० किलो तौलको सिलिन्डरको मापदण्ड तयार गरिसकेको छ ।
समितिले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने जनाएको छ । बजारमा ग्यास अभाव भएपछि घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै मूल्य र तौलका सिलिन्डरको व्यवस्था गर्नुपर्ने विषय उठ्दै आएको थियो । यसअघि पनि मन्त्रालय र निगमले फरक तौलका सिलिन्डर प्रयोगबारे अध्ययन गरे पनि कार्यान्वयन हुन सकेको थिएन ।
नेपाल आयल निगमको ‘एलपी ग्यास विनियमावली, २०६५’ मा विभिन्न तौल र आकारका सिलिन्डर बिक्री गर्न सकिने व्यवस्था रहेको छ । गुणस्तर तथा नापतौल विभागले पाँच किलो, १४ दशमलव २ किलो, १९ किलो र ४५० किलो तौलका ग्यास सिलिन्डर प्रयोगको मापदण्डसमेत तयार गरिसकेको छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले व्यावसायिक प्रयोजनका लागि ४५० किलोको सिलिन्डर आवश्यक रहेको बताए । उनका अनुसार ठूला होटलमा धेरैवटा साना सिलिन्डर राख्नुभन्दा ठूलो क्षमताको सिलिन्डर प्रयोग गर्नु उपयुक्त हुन्छ । नेपाल आयल निगमका अनुसार हाल ग्यासमा प्रतिसिलिन्डर ४११ रुपैयाँ घाटा रहेको छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम हुँदा ग्यासमा वार्षिक सातदेखि आठ अर्ब रुपैयाँ अनुदानका रूपमा खर्च हुने निगमको दाबी छ ।
हाल बजारमा खपत हुने एलपी ग्यासमध्ये करिब ७० प्रतिशत घरायसी र ३० प्रतिशत व्यावसायिक प्रयोजनमा प्रयोग हुने गरेको निगमले जनाएको छ । प्रतिसिलिन्डर ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ कायम छ । भारतमा भने घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासको मूल्य तथा सिलिन्डरको व्यवस्था फरक रहेको छ । त्यहाँ ४५० किलो क्षमताका ‘जम्बो सिलिन्डर’ होटल, रेस्टुरेन्ट, क्यान्टिन तथा उच्च ग्यास प्रवाह आवश्यक पर्ने उद्योगमा प्रयोग हुँदै आएका छन् ।

