आज प्रतिनिधिसभा र पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यसैबीच, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ ।

Facebook Comments Box