राष्ट्रपति विद्योदवी भण्डारीले नेपालको परराष्ट्र सम्बन्धबारे चासो व्यक्त

काठमाडौँ, २२ साउन – राष्ट्रपति विद्योदवी भण्डारीले नेपालको परराष्ट्र सम्बन्धबारे चासो व्यक्त गरेकी छन् । आइतबार पूर्व परराष्ट्रमन्त्रीहरुलाई बोलाएर उनले रुस–युक्रेन युद्ध, ताइवानको तनाव तथा नेपालको परराष्ट्र सम्बन्धबारे चासो राखेकी हुन् ।

भेटमा सहभागी पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी भन्छन्, ‘उहाँले हाम्रो धारणा सुन्नुभयो । अरु केही भन्नु भएन ।’ लोहनीका अनुसार राष्ट्रपति कार्यालय, शीतल निवासमा झण्डै ३ घण्टासम्म चलेको छलफलमा सहभागीहरुले भने परराष्ट्र सम्बन्ध सन्तुलित हुनुपर्नेमा जोड दिएका छन् ।

अमेरिका र चीनबीच शीतयुद्धको संकेत देखिएको र देशहरु पक्ष र विपक्षमा कित्ताकाट हुन लागेको भन्दै डा. लोहनीले भने, ‘नेपाल भूराजनीतिको केन्द्रमा छ । हामीले तीनै देशसँग सन्तुलित सम्बन्ध राख्न सक्नुपर्छ, तीनै देशको विश्वास जित्नसक्नु पर्छ ।’

तर पछिल्लो समय नेपालको नेतृत्वले आफ्नो राष्ट्रिय हितको सुरक्षा गर्छन् भन्ने विश्वास घटेर गएको भन्दै आफूले शान्ति क्षेत्र घोषणाको प्रस्तावलाई पुन अघि बढाउनुपर्ने बताएको लोहनीले सुनाए ।

Facebook Comments Box