गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरको दुःख व्यक्त, परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने

काठमाडौं, २८ असार – काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। महानगरले मृतकका परिवारलाई मानवीय सहयोग, रोजगारी तथा बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा शुक्रबार राति जारी विज्ञप्तिमा मुगु स्थायी घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको निधनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। महानगरले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले गठन गर्ने छानबिन समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। समितिले प्रस्तुत गर्ने तथ्यगत प्रतिवेदन र सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तिमा उल्लेख छ।

यस्ता दुःखद् घटना भविष्यमा दोहोरिन नदिन नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै दीर्घकालीन समाधानका उपाय पहिचान गरी प्रभावकारी अभ्यास कार्यान्वयन गर्न महानगर तयार रहेको जनाएको छ। महानगरका अनुसार मृतकका परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने विषयमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ। यस संवेदनशील परिस्थितिमा संयमित रहन र धैर्य कायम गर्न महानगरपालिकाले सबै नागरिक तथा सरोकारवालासँग अपिल पनि गरेको छ।

Facebook Comments Box