कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । यसको प्रभावले लुम्बिनीसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराईका बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमतीका थोरै तथा कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराईमा आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराईमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, कोशी, बागमती र गण्डकीका थोरै पहाडी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई पहाडी स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

