नारायणघाट–बुटवल सडकको डिभाइडरमा दुबो रोप्न थालियो
नवलपुर । चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकखण्डको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ। करिब ११३ किलोमिटर लामो सडकको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम तीव्र पारिएको नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ।
योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली र कावासोतीलगायतका क्षेत्रमा डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ। सडकको मुख्य कालोपत्र तथा ढलानको काम सम्पन्न भएसँगै अहिले सडक किनारमा रङरोगन, रेलिङ निर्माण, पैदलयात्रीका लागि पेटी तयार पार्ने र सौन्दर्यकरणका काम भइरहेका छन्।
विसं २०७५ चैतदेखि सुरु भएको सडक विस्तारको काम विभिन्न चरणमा चार पटक म्याद थप गर्दै गत साउनमा सम्पन्न भएको हो। सडक विस्तारका लागि करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ। एसियाली विकास बैंकले कुल लागतको ८५ प्रतिशत रकम एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको थियो।
नारायणघाटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४८ किलोमिटर पश्चिम खण्ड गरी सडकलाई दुई भागमा विभाजन गरेर निर्माण गरिएको हो। विस्तारित सडकमा ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेन निर्माण गरिएको छ। सडक विस्तारसँगै २१ वटा ठूला पुल, ४३ वटा साना पुल र ४६ वटा कल्भर्टसमेत निर्माण गरिएको आयोजनाले जनाएको छ।
सडकमा सवारी दुर्घटना न्यूनीकरणका लागि गति सीमा पनि निर्धारण गरिएको छ। खुला सडकमा प्रतिघण्टा ८० किलोमिटर, बजार तथा क्रसिङ क्षेत्रमा ६० किलोमिटर र जङ्गली तथा दाउन्नेको पहाडी क्षेत्रमा ४० किलोमिटर अधिकतम गति सीमा तोकिएको छ। सडक निर्माण सम्पन्न भए पनि पाँच वर्षसम्म निर्माण कम्पनीले देखिएका त्रुटि सच्याउनुपर्ने व्यवस्था रहेको आयोजनाले जनाएको छ।

