आजदेखि १०औँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा सुरु हुँदै

काठमाडौँ । लामो प्रतीक्षापछि आजदेखि कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मङ्सिर १६ गते हुने तय भएको छ। राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट स्वीकृत तालिकाअनुसार आजदेखि पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहित विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन हुनेछन्।

प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुँदैछन्। त्यस्तै, टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन हुनेछन्। प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ। विभिन्न प्रदेशका खेलाडीसमेत वीरेन्द्रनगर पुगिसकेका छन्। वीरेन्द्रनगरस्थित रङ्गशाला सोमबार हस्तान्तरण तथा उद्घाटन गरिएको छ।

प्रतियोगिताको प्रचारप्रसारका लागि वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्‍यालीसमेत निकालिएको थियो। र्‍यालीमा मुख्यमन्त्री मङ्गलबहादुर शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलाडी तथा स्थानीयको सहभागिता रहेको थियो। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन मङ्सिर १६ गते र समापन मङ्सिर २७ गते सुर्खेत रङ्गशालामा हुने कार्यक्रम रहेको छ।

Facebook Comments Box