अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउँदै सरकार : मन्त्री पुन
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल बनाउन सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउने प्रयास गरिरहेको बताउनुभएको छ। काठमाडौँस्थित इजरायली राजदूतावासमा आयोजित ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयक कार्यक्रममा उहाँले अनुसन्धान र नवप्रवर्तनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।
मन्त्री पुनका अनुसार सरकारले पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्याएको छ। अनुसन्धान र नवप्रवर्तनमार्फत मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने सरकारको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो। सरकारले कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, ड्रोन, कृषि तथा जैविक चिकित्सा इन्जिनियरिङलगायत क्षेत्रमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना बनाएको पनि मन्त्री पुनले जानकारी दिनुभयो।
कार्यक्रममा नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बौद्धिकताको क्षेत्रमा इजरायलले हासिल गरेको अनुभव प्रस्तुत गर्नुभएको थियो। उहाँले ज्ञान आदानप्रदान तथा संस्थागत साझेदारीमार्फत नेपालसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चार सदस्यीय इजरायली प्रतिनिधिमण्डलले नेपाल–इजरायल सम्बन्धका साथै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका विभिन्न आयामबारे जानकारी गराएको थियो। नेपालको भौगोलिक बनोट र अनुकूल मौसमका कारण साइबर सुरक्षाको केन्द्रका रूपमा विकास गर्न सकिने प्रतिनिधिमण्डलको भनाइ थियो।

